पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा सुनुवाईका लागि पेशीमा चढेको छ ।
प्रचण्डलाई अदालतको अवहेलनासम्बन्धी कसुरमा आवश्यक कारबाही गराइ पाउँ भन्दै अधिवक्ता समिर हायुले सोमबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोमबार दर्ता भएको निवेदनमाथि सुनुवाईका लागि मंगलबार पेशी तोकिएको हो ।
प्रचण्डविरुद्धको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेशी तोकिएको हो । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाई चलिरहेका बेला न्यायाधीशहरुलाई धम्क्याउने र ‘जनअदालत’बाट फैसला गर्नेजस्ता उत्तेजक अभिव्यक्ति दिएर अदालतको अवहेलनासम्बन्धी कसुर गरेको भन्दै हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् ।
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, ४ जना पूर्वप्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो । ती सबै मुद्दा पनि सर्वोच्चका न्यायाधीश शर्माकै इजलासमा परेको थियो ।
न्यायाधीश शर्माको इजलासले प्रधानमन्त्री ओलीसहितका विपक्षीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश जारी गरिसकेको छ ।