प्रतिनिधिसभा विघटनपछि पहिलोपटक डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका सहयोगी अशोक पौडेलका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको हो ।
यसअघि मंसिर २९ गते अध्यादेश ल्याएर मंसिर ३० मा विभिन्न ३८ पदमा परिषद्ले नियुक्तिको सिफारिस गरेको थियो। संवैधानिक परिषद्मा पहिला गणपूरक संख्याका लागि अध्यक्ष र अन्य चारजना उपस्थित हुनुपर्ने कानुनी प्रबन्ध थियो ।
ओलीले तत्काल कायम रहेका सदस्यको बहुमतबाट निर्णय हुन सक्ने प्रावधान राखेर अध्यादेश जारी गरेपछि मंसिर ३० गते विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिस भएको थियो ।
उक्त सिफारिस असंवैधानिक भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार फिर्ता पठाइदिएका थिए । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने सापकोटाको उक्त कदमप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा नभएका बेला बैठक डाक्नु असंवैधानिक भएको भन्दै नेकपाको दाहाल–नेपाल समूहले आपत्ति जनाएको थियो। उक्त नियुक्तिको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार) साँझ ५ बजेका लागि बैठक डाकेका थिए ।