logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल-नेपाल समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दाबी पेश


अंकुरण खबर
1.326K
Shares

पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपाले आधिकारिकता दाबी गर्दै आज निर्वाचन आयोगमा निवेदन दिएको छ ।

दाहाल-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय दाहाल र नेपाल, झलनाथ खनालसहितका नेताहरु आयोग पुगेर बहुमत केन्द्रीय सदस्य आफूहरुसँग रहेको हुँदा पार्टीको नाम, झण्डा र सूर्य चुनाव चिन्हको आधिकारिकता दाबी पेश गरेका हुन् ।

पार्टी विभाजन भएको र त्यसको आधिकारिक धार आफूहरु रहेको दावी दाहाल-नेपाल समूहले गरेको हो । करिब दुई तिहाइ सदस्यहरुको निर्णयसहित आधिकारिकताको दाबी गरिएको नेता झलनाथ खनालले बताए ।

नेता खनालले भने, ‘हामी १५–२० जनाको समूह निर्वाचन आयोगमा पुगेर आधिकारिक माग दाबीसहितको निवेदन प्रस्तुत गरेका छौं ।’

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी दाहाल नेपाल समूहले गरेको हो । सो दफामा कुनै दलमा विभाजन भएर त्यसको दाबी भएमा आयोगले सम्बन्धित पक्षहरुसँग पत्राचार गर्नसक्ने व्यवस्था छ ।

सोमबार बसेको सो समूहाको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगमा रितपूर्वक आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो । यसअघि दाहाल नेपाल पक्षले पार्टी विभाजन नभई कारबाही गरेर केपी ओलीलाई हटाएको दाबी गरेपनि आयोगले दल विभाजित नभएको भन्दै त्यसलाई अस्वीकार गरेको थियो ।