डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ ।
खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।
डोटीमा मात्र नभई विभिन्न ठाउँबाट कोरोना खोप लिएका केही व्यक्तिहरुले स्वास्थ्यमा सामान्य समस्या देखिने गरेको बताएका छन् । केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ-आफ्नो नियमित काममा फर्किसकिएको बताइएको छ ।
खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयकले जनाएको छ ।
जिल्लामा जम्मा एक हजार ६२० डोज भ्याक्सिन पुगेको हो । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा एक हजार ५२६ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।
जिल्लामा सोमबारसम्म मात्रै खोप लगाउने निर्णय गरिएको भए पनि त्यो समय बढाएर यही माघ २२ गतेसम्म राखिएको छ । खोप लगाउन अझै केही सङ्ख्या बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णयअनुसार केही दिन समय बढाएको अस्पतालले जनाएको छ ।