logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपराष्ट्रपति र सभामुखद्वारा शपथ ग्रहण समारोह बहिस्कार


अंकुरण खबर
3.055K
Shares

संवैधानिक निकायका पदाधिकारीहरुको शपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् ।

बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा संवैधानिक निकायका प्रमुख र पदाधिकारी गरी ४५ जनालाई शपथ ग्रहण गराइएको थियो । शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा उपस्थित भएनन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत उपस्थित थिए ।

कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको शपथ ग्रहण समारोह उपराष्ट्रपति पुन र सभामुख सापकोटाले बहिस्कार गरेका हुन् । यसलाई संसद विघटनसँगै नेकपा विभाजनको असरका रुपमा हेरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाईका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए ।

प्रतिनिधिसभा विघटन भएपछि संसदीय सुनुवाइ समिति पनि विघटन भएको उल्लेख गर्दै यस्तो अवस्थामा संवैधानिक निकायमा नियुक्ति हुन नसक्ने दाबी सभामुखको छ ।

केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका नेता डा. बाबुराम भट्टराईसँग उपराष्ट्रपति पुनको छलफल भएको थियो ।