logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न संविधान मान्नु छ, न नीति नियम मान्नु छ, वर्तमान सरकार जंगली भयो : प्रचण्ड


अंकुरण खबर
4.173K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीको वर्तमान सरकार जंगली भएको टिप्पणी गरेका छन् ।

जनयुद्धमा रहँदा आफूहरुलाई जंगली भन्ने गरिएको स्मरण गर्दै वास्तविक जंगली अहिलेको सरकार भएको बताए ।

बुधबार आयोजित बहिगर्मित जनमुक्ति सेनाहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नीति, नियम, संविधान नमान्ने वर्तमान सरकार जंगली भएको आरोप लगाए ।

‘हिजो (जनयुद्धका क्रममा) हामी विधिमा थियौं, पद्दतिमा थियौं । विचारमा थियौं। तर केही मान्छेले हामीलाई जंगली भन्थे । जंगली त थिएनौं हामी, जनताको काखमै थियौं,’ प्रचण्डले भने, ‘तर अहिले यहाँ केपी (केपी शर्मा ओली)को नेतृत्वमा जुन सरकार चलेको छ, त्यो चाहिँ जंगली भयो । न संविधान मान्नु छ, न नीति नियम मान्नु छ, न विधि पद्दति मान्नु छ । सबै तोडेर अहिले संवैधानिक निकायमा बडो अवैधानिक तरिकाले बिहान (बुधबार) सपथ ग्रहण गराइयो । जंगली राज शुरु भएको चाहिँ संकेत भएको छ । निरंकुश राज शुरु भएको संकेत भएको छ । त्यसकारण हामीले भोलि (बिहीबार) आम हड्ताल गर्ने भनेर निणर्य गरेका छौं ।’

प्रचण्डले विश्वका विभिन्न देशमा भएका सशस्त्र विद्रोह आफ्नै आँखा अगाडि असफल भएको देखेपछि आफूले शान्ति नै उपयुक्त ठानेको उनले बताए ।

श्रीलंकाको तमिल विद्रोह, पेरुमा भएको विद्रोह लगायतका विद्रोह आफ्नै आँखाअघि नाम निशान नदेखिने गरी सकिए हुँदा आफ्नो पनि त्यस्तै अवस्था नहोस् भनेर उक्त निर्णय गरेको उनको भनाइ छ।