सर्वोच्च अदालतले अवहेलना मुद्दामा नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।
न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजालासले कारबाही किन गर्नुनपर्ने हो त्यसको कारण खुलाएर सात दिनभित्र लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएको हो ।
दाहालविरुद्ध अधिवक्ता समिर हायूले आइतबार सर्वोच्च अदालतमा अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।
मंगलबार पेशी तोकिए पनि हेर्न नभ्याइएपछि आजका लागि तोकिएको थियो। दाहालले देशका विभिन्न स्थानमा आयोजित सभामा अदालतमा विचाराधीन मुद्दाका विषयमा अभिव्यक्ति दिनुका साथै न्यायाधीशहरुलाईसमेत लक्षित गरेर बोलेको भन्दै कारवाही गरिपाउँ भन्दै रिट दर्ता गरेका थिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।