logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीको व्यंग्य- अरूका गाडी जलाएर तमासा हेर्न गाडीमा निस्किनु भो


अंकुरण खबर
2.067K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकले दु:ख गरेर फलाएको तरकारी सडकमा फ्याकेको भन्दै प्रचण्ड-माधव समूहको आलोचना गरेका छन् ।

उनले जनतालाई दुख दिएर प्रचण्ड र माधव नेपाल गाडीमा सयर गर्दै तमासा हेरेको आरोपसमेत लगाए । आफैँले आह्वान गरेको बन्दमा गाडी र स्कुटर चढेको प्रति व्यंग्य गर्दै ओलीले बन्दमा जनताले कति दुःख पाए भनेर बाइक र गाडी चढेर हिँडेको आरोप लगाए ।

किसान महासंघको कार्यक्रममा सम्वोधन गर्दै ओलीले भने, ‘बुढी आमाले डोकामा बोकेको टमाटर सडकभरि फ्याकेर उहाँहरुले क्रान्तिकारिता देखाउनुभो । अरुका गाडी जलाउनुभो । अनि जनताले कति दु:ख पाए हँ भनेर आफू गाडीमा तमासा हेर्न निस्किनु भो ।’

उनले अगाडि थपे, ‘एकजना गाडीमा हिँड्नुभा, अर्को चाहिँ गाडी नै त नचढौं, बाइकसम्म ठीक हुन्छ भनेर पछाडि बस्नुभयो ।’

ओलीले प्रचण्ड-माधव समूहसँग कार्यकर्ता सिद्धिएको टिप्पणी गरे । उनले भने, ‘कार्यकर्ता जति यता छन्, कहाँबाट उता होस ? गाडी रोक को उभिएको भनेर यसो हेर्दा त प्रचण्ड । कहाँ भन्दा फेरि सातदोबाटो । ठाउँमा पनि छानेकै हो । कार्यकर्ता सिद्धिएछन् उहाँहरुका । आफैं ‘हामी यहाँ छौं’ भन्दै यता टाँसो, उता टाँसो । हामी यहाँ छौं भन्ने त उहाँहरुको ब्रान्ड नै भयो । जसले हामी यहाँ छौं भनेर टाँसेका छन् त्यत्ति हुन् उहाँहरूका कार्यकर्ता ।’

किसान संघको भेलामा ओलीले माधव नेपालले किसानका समस्या समाधान गर्न नदिएको आरोप लगाए । हालै सरकारले भूमि समस्या समाधान आयोग बनाएको भन्दै त्यो बनाउन नदिन नेता नेपालले भाँजो हालेको बताए ।

उनले नेपालमा कृषि समस्या समाधान गर्नलाग्दा नेपालले बाधा हाले पनि उनी हटेलगत्तै आयोग बनाएको बताए । उनले भने, ‘माधव नेपालले मेरो मान्छे, मेरा पक्षधर भनेर कामै गर्न दिएनन् ।’

प्रचण्ड र नेपाललाई कहिल्यै हातमा हलो, कोदालो नसमाएको, धान कसरी रोपिन्छ, थाहै नभएको ओलीले व्यंग्य गरे ।