अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद् मिनकुमार अर्यालले बताए । यी क्षेत्रमा पश्चिमी वायुको प्रभाव हिजोदेखि नै परेको थियो । पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना पनि रहेको छ ।
प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने मौसमविद् अर्यालले बताए । यसअघि यो प्रणालीका कारण देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिए पनि अनुमान गरिएभन्दा प्रणाली कमजोर बन्दै गएकाले हल्का वर्षा मात्रै हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
आज काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मध्य र पूर्वमा क्षेत्रमा यो प्रणालीको प्रभाव भोलिसम्म नै रहनेछ ।
पश्चिमका क्षेत्रबाट भने भोलि प्रणाली हट्ने अनुमान गरिएको छ । पश्चिमी वायुको प्रणाली पर्सिदेखि हट्ने र त्यसपछि गर्मी सुरु हुने मौसमविद्ले बताएका छन् ।