नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधान बिपरित भएका गतिविधि विरुद्ध गरिएको आन्दोलनमा जनताले साथ दिएको र सफल भएको बताएका छन ।
शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा आमहडताल जरुरी रहेको उल्लेख गर्दै जनताले साथ दिएको दावी गरेका हुन । दाहालले प्रधानमन्त्री केपी ओलीले शुक्रबार गरेको शक्ति प्रदर्शनलाई पञ्च¥यालीको संज्ञा दिए । आफूले समृद्धिका लागि पार्टी एकता गरेको तर ओली प्रवृत्तिलाई चिन्न नसकेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले नेकपाको विवादसम्बन्धमा श्वेतपत्र निकाल्ने तयारी भइरहेको जानकारी दिए । एमसीसीबारे नेकपाले अन्तिम निर्णय गरिनसकेको उनको जिकिर छ ।
संवैधानिक परिषद्मा भएको ज्यादतीपूर्ण नियुक्तिको विषयमा भएको आन्दोलनमा अर्को बिषयको नारा लगाउन उपयुक्त नहुने भन्दै एमसिसि विरुद्धको नारा लगाउन रोकिएको प्रष्टिकरण समेत उनले दिए ।
अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गरेका अपराधको एक एक हिसाबकिताब इतिहासले लिने बताए । उनले संविधान मिच्ने काम निरन्तर भएको भन्दै आन्दोलन परिचालन समिति नै बनाएर जनतामाझ जाने तय गरिएको जानकारी दिए ।
अध्यक्ष नेपालले आफूहरूको आन्दोलनमा पहरीले अनावश्यक दमन गरेको भन्दै आपत्ति जनाए । नेपालले ओली पक्ष चोइटिएर गएको नेकपाको समूह मात्रै भएको जिकिर समेत गरे ।