नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आज सकिँदैछ । माघ १४ गतेबाट शुरु भएको पहिलो चरणको खोप अभियान शनिबारबाट अन्त्य हुन लागेको हो ।
पहिलो चरणको खोप अभियान अन्तर्गत शुक्रबारसम्म लक्ष्य भन्दा ४० प्रतिशत कम नागरिकले खोप लगाएका छन् । १० दिनमा चार लाख ३० हजार मानिसलाई खोप लगाउने लक्ष्य राखिएको भएपनि शुक्रवारसम्ममा एक लाख ७१ हजार चार सय ८६ जनाले खोपको पहिलो मात्रा लिएका हुन् ।
देशका दुई सय एक वटा केन्द्रमा मात्र खोप कार्यक्रम सञ्चालन भैरहेको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले चाँडै शुरु गर्दैछ । कोभ्याक्स सुविधामार्फत् दोस्रो चरणको खोप ल्याएर खोप लगाउने तयारी छ ।
यसैबीच चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पाँच लाख मात्रा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रवार बेलुकी भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले अनुदानको खोप दिने प्रतिबद्धता जनाएका हुन् ।
यसअघि चीनले नेपाललाई तीन लाख मात्रा कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो । चीनले कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता समेत वाङ यीले प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनले बनाएका कोरोनाविरूद्धका खोपले नेपालमा अझै प्रयोगको स्वीकृति पाएको छैन ।