logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भागरथीको दोषीलाई पक्राउ गर्न दबाब बढ्दो, प्रहरीको थप अनुसन्धान टोली बैतडी पुग्यो


अंकुरण खबर
793
Shares

बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीको १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नको पक्राउका लागि दबाब बढिरहेका बेला प्रहरीको थप अनुसन्धान टोली बैतडी पुगेको छ ।

स्थानीय प्रहरीलाई अनुसन्धानमा सघाउन सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी जनकराज पाण्डे र केन्द्रीय अनुसन्धान व्यूरोका डिएसपी पञ्चकुमार बाखुको टोलीले बैतडी पुगेको हो ।

भागरथीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानका आधारमा घटना भएको क्षेत्रमा सूक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गत बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा वीभत्स रुपमा हत्या गरिएको अबस्थामा शव फेला परेको थियो ।

शव परीक्षणको रिपोर्ट एक दुई दिनमा आउने जिल्ला अस्पताल बैतडीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।

अपराधी पत्ता नलागेको भन्दै भागीरथीका परिवारले भने शब बुझन मानेका छैनन् । भागरथीका बुबाको दुई महिना अघिमात्रै मृत्यु भएको थियो । मृतकका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् ।

यता, हिजो मात्र नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै दोषी पत्ता लगाउन माग गरेका छन् ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि भागरथीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । भागरथीको न्यायको माग गर्दै विभिन्न स्थानमा प्रदर्शनहरु भएका छन् ।