नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्धको लडाईं आफूहरूले जित्ने दाबी गरेका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम परिषद् बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वातावरण सकारात्मक दिशातर्फ अगाडि बढेको बताएका हुन् ।
‘केपीले जसरी संविधान कुल्चने र प्रतिक्रान्तिको वकालत गर्ने काम गरे, उनले जित्ने कुनै सम्भावना छैन । हामी जहाँ उभियौं त्यहाँ लडाईं जित्यौं, यही आजको सच्चाइ हो,’ प्रचण्डले भने, ‘हामी जनतासँग जोडियौं, हामीलाई गर्व छ । केपी गणतन्त्रबाट टाढा गए । संविधानलाई घात गर्ने कुत्सित मनसायतिर लागे, उनले हारे ।’
प्रचण्डले प्रतिनिधि सभा पुनःस्थापना भएर आएपछि आफूहरूले शिक्षकका माग पूरा गर्ने आश्वासन दिए ।
‘वातावरण सकारात्मक दिशातर्फ गएको देखेका छौं । ओली रक्षात्मक बाटोतिर लागे । अस्तिसम्म खुबै धाकधक्कु लगाए । मान्छेलाई छिरलेर राख्दा पनि उनकै सेक्युरिटीले ३० देखि ३५ हजार भनेपछि उनीहरूले एकआपसमा गाली गरेको देखेको छु,’ प्रचण्डले भने ।