logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश, वर्षा र हिमपातको सम्भावना


अंकुरण खबर
975
Shares

यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो। मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए।

नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो। आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो।

मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ।

मौसमविद् सजिना शाक्यले आगामी बुधबारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताइन्। उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू–भाग तथा अन्य पहाडी भेगमासमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबारदेखि तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ। यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ। अब विस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ।

राजधानी काठमाडौंसहित देशभर दिउँसोपख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले चिसो अझै रहने तथा तराईका भू–भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।