logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गंगामायाको जीवन रक्षा र न्यायको माग गर्दै मानवअधिकारकर्मीले गरे बालुवाटारमा प्रदर्शन


अंकुरण खबर
702
Shares

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कार्वाहीको माग गर्दै आमरण अनशनमा बसेका गंगामाया अधिकारीको जीवन रक्षा र न्यायका लागि आग्रह गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

५१ दिनदेखि वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको जीवन रक्षा तथा न्यायका लागि मानवअधिकारकर्मी, द्वन्द्व पीडितलगायतले प्रदर्शन गरेका हुन् ।

नक्सालबाट शुरु भएको र्‍याली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिक पुगेर धर्ना दिइएको थियो । नेपाल मानवअधिकार संगठनको आह्वानमा गंगामायाको न्यायका लागि नागरिक ऐक्यवद्धता जनाइएको हो ।

कार्यक्रममा अधिकारकर्मीहरु डा. केदारनरसिंह केसी, महामुनिश्वर आचार्य, राजन कुईंकेल, इन्द्र अर्याल, सावित्री श्रेष्ठ, बद्री भुषाललगायतले मौलाउँदो दण्डहीनताका कारण पीडितले न्याय नपाएको, पीडकहरु सत्ता चलाउने र पीडित सडकमा रहनुपर्ने अवस्था सृजना भएको भन्दै आपत्ति जनाए ।

उनीहरुले गंगामायासहितका पीडितहरुले नेपालमा न्याय नपाए विषयलाई अन्तर्राष्ट्रियकरण गरिने चेतावनी पनि दिए ।

गत पुस ६ गतेदेखि वीर अस्पतालको ट्रमा सेन्टरमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।