राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुनुपर्ने बताएकी छन्।
आयोगको ३० औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन्। ‘भ्रष्टाचार नियन्त्रणमा सबैको साझा दायित्व हुन्छ। सुशासन एउटा बहुआयामिक विषय हो,’ उनले भनिन्, ‘राजनीतिक, आर्थिक लगायत सम्रग क्षेत्रमा हुन सक्ने बेथिति अन्त गर्न सके मात्रै समष्टिगत रुपमा भ्रष्टाचार न्यूनिकरण हुँदै जानेछ।’
मुलुकमा भ्रष्टाचारको प्रभावकारी रुपमा नियन्त्रण हुन सकेन भने राज्यप्रणाली नै जरजर हुने भन्दै उनले त्यसका लागि भ्रष्टाचारविरुद्ध कडाइका साथ लाग्नुपर्ने बताइन्।
अख्तियारको दुरुपयोग गर्नेलाई समयमा नै पहिचान गरेर दण्ड दिन सके मात्रै सुशासन कायम हुने उनको भनाइ छ।
‘आयोगले भ्रष्टाचार र अख्तियारको दुरुपयोग विरुद्ध परेका छानबिन र अभियोगमा निष्पक्ष, तटस्थता र निर्भीक भएर काम गर्नेछ,’ उनले भनिन्, ‘भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नका लागि सबैले निष्ठापूर्वक काम गर्नुपर्छ।’
निरोधात्मक, प्रवर्धनात्मक र उपचाररात्मक कदम कार्यान्वयनका लागि आयोग प्रभावकारी हिसाबले अघि बढ्नुपर्ने उनले सुझाव दिइन्।