logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हामी बोल्न जन्मिएका हौं, बोल्न पाइन्छ : रामकुमारी झाँक्री


अंकुरण खबर
1.573K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी ओली कागजी बादशाह भएको बताएकी छन् ।

बुधबार नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै झाँक्रीले खड्गप्रसाद ओली कागजी बादशाह भएको बताएकी हुन् ।

अहिलेको यो लडाईं ओलीविरुद्धको मात्र नभई ओली प्रवृतिविरुद्ध भएको बताइन् । झाक्रीले अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ओली प्रवृति नदोहोरिने सुनिश्चितता गर्नुपर्ने बताइन्।

सभामा बोल्दै नेतृ झाक्रीले नागरिकहरुको बलिदानबाट आएको व्यवस्थामा जनताको बोल्न पाउने अधिकार कसैले खोस्न नसक्ने बताइन्। आफूहरु बोल्न जन्मिएको भन्दै कसैले बोल्न नरोक्ने बताइन् । उनले भनिन् ‘बोल्न पाइन्छ। हामीले ल्याएको लोकतन्त्रमा बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौँ। कागजी बादशाहविरुद्ध बोल्नुपर्छ।‘

झाँक्रीले कार्यकारी प्रधानमन्त्रीको असिस्टेन्ट जस्तो भूमिका खेलेका कारण राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको बताएकी छन् ।

मञ्चबाट झाँक्रीले राष्ट्रपति भण्डारीविरूद्ध विवादमा परेको उनको केही दिनअघिको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन्। ‘संस्थाको कुनै लिंग हुँदैन। त्यो सार्वजनिक हुन्छ,’ झाँक्रीले भनिन्,‘प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ।’ झाँक्रीले राष्ट्रपतिलाई खलपात्रको संज्ञा दिँदै उनीविरुद्ध बोल्ने बताएकी हुन् ।

केही दिनअघि झाँक्रीले प्रतिनिधि सभा विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई कोटेश्वर नभए बालकोट जान भनेकी थिइन्। राष्ट्रपति भण्डारीविरुद्ध विवादास्पद् अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना हुँदै आएको छ ।