logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजीनामा दिएर पश्चाताप गर्न प्रधानमन्त्री ओलीलाई प्रचण्डको आग्रह


अंकुरण खबर
2.652K
Shares

पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर पश्चाताप गर्न सुझाव दिएका छन् ।

बुधबार नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रचण्डले भने, ‘तपाईसँग अझैपनि सानो ठाउँ छ । राजीनामा दिएर पश्चाताप गर्नुस् ।’

केपी ओली जनताको शरण छाडेर भगवानको शरणमा पुगेको भन्दै प्रचण्डले भने, ‘हाम्रो भगवान जनता हुन् । हामी तपाईहरुको शरणमा छौँ ।’

अध्यक्ष दाहालले संसद् पुनःस्थापना नभए नेपालमा ठूलो आँधी हुरी आउने बताएका छन् ।

‘शान्तिपूर्ण आन्दोलन विद्रोमा उत्रिए के हुन्छ ? यो संविधान निर्माण गर्दा २००४ सालमा राणाहरुले बनाएको संविधानदेखि तमाम् संविधान अध्ययन गरेर कस्तो संविधान बनाउँदा जनताको हित हुन्छ भनेर बनाइएको छ,’ दाहालले भने, ‘आजको उपस्थितीले अदालतलाई फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ हुरि आउँछ कसैले थाम्न सक्दैन ।’

उनले अदालत, निर्वाचन आयोग सबैले केपी ओलीको विपक्षमा फैसला गर्ने विश्वास आफूलाई रहेको पनि बताए । ‘संवैधानिक निकायहरुले केपी ओली जस्तो निरंकुश व्यक्तिको डरको भरमा फैसला गर्छन भनेर म पत्याउँ त ? जनताले पत्याउँछन् ?’उनले भने, ‘केपी तिर लागेकाहरु फर्कन लामो लाइन छ । अरु त अरु उहाँसँग रहेका २ जना मन्त्री पनि फर्कन मसँग वार्ता गर्दैछन् ।’