नेपालगञ्जका विभिन्न ठाउँबाट मोटरसाइकल चोर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
केही महिनायता नेपालगञ्जमा मोटरसाइकल चोरीका घटना बढेपछि प्रहरीले अप्रेशन टोली नै परिचालन गरेर चोरीमा संलग्नको खोजी गरेको थियो। त्यसक्रममा मोटरसाइकल चोरी गर्ने गिरोह नै फेला परेको एसपी ओमबहादुर रानाले बताए।
नेपालगञ्ज आसपासबाट मोटरसाइकल चोरी गरेर दाङ, रोल्पा, रुकुम, जाजरकोट, प्यूठान, सल्यान लगायतका जिल्लामा लगेर बेच्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले बाँके खजुराका रामबहादुर थापा, नेपालगञ्जका रन्जित शर्मा, जुम्लाका धिरेन्द्रविक्रम शाही, दाङका इरसाद अहमद मुसलमान, रोल्पाका छविलाल पुन मगर र नवराज रोका क्षेत्रीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ वटा मोटरसाइकल बरामद भएको छ। एसपी रानाले यो समूहले ११ वटा मोटरसाइकल चोरी गरेको खुलिसकेको बताए।
बाँके प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर बरामद मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरेको छ।