नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई ‘पक्राउ’ गर्न प्रहरी टोली उनको घरमै पुगेको छ ।
महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको शंखमुलस्थित घरमै पुगेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ‘अपमानजनक’ अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्रालयको निर्देशनमा प्रहरीले झाँक्रीविरुद्ध अनुसन्धान अगाडि बढाएको थियो ।
महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई सोधपुछका लागि भन्दै बिहीबार बिहान कार्यालयमा उपस्थित हुन भनेको थियो । फोनमार्फत बोलाउँदा नआएपछि प्रहरीको टोली सादा पोशाकमा उनको निवासमै पुगेका हुन्। अपराध महाशाखाका एक अधिकृतले झाँक्रीको घरमा आफूहरुको टोली पुगेको बताएका छन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा निकट अखिल नेपाल महिला संघ (अनेमसंघ)का पदाधिकारीहरुले झाँक्रीलाई कारबाहीको माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाएका थिए । अनेमसंघको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री भण्डारीले राष्ट्रपतिविरुद्ध अपमानजनक शब्द प्रयोग गर्नेलाई कानून बमोजिम कारबाही गरिने बताएका थिए ।
संसद विघटनविरुद्ध गोरखामा आयोजित एउटा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आलोचनात्मक टिप्पणी गर्दै झाँक्रीले भण्डारीलाई ‘महारानी’ भनेकी थिइन् ।
झाँक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश-आराम छाडेर शीतलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो ? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु ।’