नेकपा प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छन् ।
झाँक्रीले राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि उनलाई बोलाएका थिए । तर झाँक्रीले आफूलाई पक्राउ गर्न पुर्जी लिएर आउन भनेको जानकारी दिइन् ।
उनले यो राजनीतिक मुद्दा भएको र त्यसविरुद्ध दलहरु नागरिक समाज लडिरहेको बताइन् । ‘राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ उनले निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन्, ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’
राष्ट्रपति व्यक्ति नभएर संस्था भएको भन्दै उनले त्यहाँ चुनिने व्यक्तिले कुनै दल वा व्यक्तिको पक्षमा लाग्न नहुने उनको भनाइ छ ।
नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमा पुगेपछि कार्यकर्ता र समर्थकहरुहरु भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।