नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ पूर्जी दिएको छ ।
बिहीबार उनको निवास शंखमुलमा पुगेर प्रहरीले राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पूर्जी दिएको हो । प्रहरीले पूर्जी बुझाएपछि नेतृ झाँक्रीले आफू गिरफ्तारी दिन तयार रहेको बताएकी छन् ।
सादा पोशाकमा पक्राउ पूर्जी बिना प्रहरी झाँक्रीको घर पुगेपछि झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिईन् ।
प्रहरी टोली उनको घरमा पुगेपछि कार्यकर्ता र समर्थकहरु भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।
महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बिहीबार बिहान आउन भनेको थियो । नआएपछि आफूहरु पुगेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।
केही दिन पहिले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरेको टिप्पणीलाई लिएर झाँक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो ।