प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको सुनुवाइका क्रममा बिहीबार ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको बताएका हुन् ।
संविधानले प्रधानमन्त्रीलाई राजाको जत्तिकै अधिकार दिएको उनको भनाइ थियो । ‘संसद् विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुन्छ । प्रधानमन्त्री राजाबराबर, श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा हुन्छ,’ इजलासमा उनले भने ।
उनले वर्तमान सविधानले प्रधानमन्त्रीलाई राजालाई जत्तिकै अधिकार दिएको र त्यही अधिकारको प्रयोग गरेर ओलीले संसद विघटन गरेको दाबी गरे । ‘पहिलेको संविधानले जति अधिकार राजालाई दिएको थियो अहिले त्यति नै अधिकार प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्री भनेको केपी ओली हो । अहिले केपी ओली श्री ३ बराबर हो,’ गौतमले भने ।
उनले प्रधानमन्त्रीलाई संविधानले अवशिष्ट अधिकार दिएकाले त्यो अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद् विघटन गरेको उनको भनाइ थियो ।
यससँगै प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूको समय सकिएको छ । अब सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस सुरु गरेका छन् ।