logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटार जग्गा प्रकरणमा माधवकुमार नेपालविरुद्ध दायर रिटको सुनुवाईका लागि पेशी तोकियो


अंकुरण खबर
871
Shares

काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणमा तत्कालीन प्रधानमन्त्री समेतविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाईका लागि आइतबार पेशी तोकिएको छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत विरुद्ध मुद्दा चलाउन माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानलेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संलग्नता रहेको भए पनि अनुसन्धान गरी मुद्दा चलाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई समेत विपक्षी बनाउन रिटमा मागदाबी गरिएको छ ।

वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं समेतलाई विपक्षी बनाई राजनीतिक नेतृत्वलाई बचाउने गरी आयोगले निर्णय गरी मुद्दा चलाएको भन्दै तत्कालीन प्रधानमन्त्रीलाई समेत मुद्दा चलाउन माग गरेर रिट दायर गरेका थिए ।

रिटमाथिको सुनुवाईका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको इजलासमा पेशी तोकिएको छ । यसअघि गत माघ ४ गते पनि न्यायाधीशद्वय भट्टराई र फुयालको इजलासमा पेशी तोकिएकोमा हेर्न नभ्याइने भनेर पेशी सरेको थियो ।