प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई राजनीतिक अस्थिरताको खेल मैदान हुन नदिनका लागि आफूले संसद विघटन गर्नुपरेको दावी गरेका छन् ।
अन्य सबै विकल्पहरु सकिएपछि आफूले संसद विघटन गरेको उनको भनाइ छ । विघटन नगरेको भए अस्वस्थ राजनीतिक गतिबिधि बढ्ने र राष्ट्रिय राजनीति प्रदूषित हुने भएको हुँदा त्यसबाट मुलुकलाई बचाउन ताजा जनादेशमा जाने विकल्प रोजेको उनको दाबी छ ।
सोमबार भूकम्पबाट क्षति भएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको पुनर्सबलीकरणपछि उद्घाटन कार्यक्रमपछि आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका नेताहरुले नेताहरुले सरकार सञ्चालनमा असहयोग गर्नुका साथै समानान्तर सरकार सञ्चालनको प्रयास गरेको आरोप लगाए । उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’
उनले आफू प्रधानमन्त्री भए पनि सरकारका बिभिन्न निकायमा महत्वपूर्ण पदाधिकारी रिक्त हुँदा समेत नियुक्ती गर्न नदिने, सकेसम्म अल्मल्याउने र महत्वपूर्ण कार्यकारी पदहरुमा अनुपयुक्त पात्र अघि सार्ने गरेको बताए ।
‘पदाधिकारी नियुक्ति गर्न नपाउने, संसदमा पुगेका सार्वजनिक सेवासम्बन्धी विधेयकहरु समेत अल्मल्याउने, समानान्तर सरकार सञ्चालन गर्ने प्रयास गरियो,’ प्रधानमन्त्री ओलीले बताए ।