म्यानमारकी नेतृ आङ सान सुकीका वकिल खिन पाउङ जाओले सैनिक कू बाट अपदस्थ नेतृ सुकी बुधबार (१७ फेब्रुअरी) सम्म प्रहरी हिरासतमै रहने बताएका छन्।
यसअघि सुकीलाई सोमबार छाड्ने अनुमान गरिएको थियो। प्रहरी हिरासतमा रहेको भनिएकी सुकीको रिहाइको माग गर्दै अधिकांश ठूला सहरमा प्रदर्शनकारीको भीड बढ्दै गएको छ।
प्रदर्शनकारीहरुले सुकीको रिहाइ र म्यानमारमा लोकतन्त्र बहालीको माग गर्दै आएका छन्।
सोमबार उनका वकिल खिनले पत्रकारहरुसँग भने, ‘अदालतमा हामीलाई न्यायाधीशले सुकीलाई १७ फेब्रुअरीमा प्रहरीले रिहा गर्नेबारे जानकारी दिएका छन्। उनी तत्काल प्रहरी हिरासतमै रहने छिन्। यो ठिक हो या गलत अब तपाईँ आफैँ बताउनुस्।’
खिनले सोमबार बिहान न्यायाधीशले सुकीसँग भिडियो कन्फ्रेन्सिङमार्फत् कुरा गरेको समेत बताएका छन्।
यसैबीच सैन्य कूविरुद्ध विरोध चर्किरहेको बेला सेनाले म्यानमारका ठूला सडकमा बख्तरबन्द गाडी तैनाथ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै देशभरको इन्टरनेट सेवा बन्द गरेको छ।
सैन्य कू विरुद्ध म्यानमारमा १० दिनदेखि लगातार विरोध प्रदर्शन जारी छ।