आजदेखि डाक्टरहरूले बिरामी जाँच्ने शुल्क बढेको छ ।
नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल अफिनले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो ।
संघ र अफिन संयुक्त बैठक बसेर आजदेखि नै लागू हुने गरी शुल्क बढाएको हो ।
सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरुका संस्थाले आफैं डाक्टर फी वृद्धि गरेको जनाएका छन् ।
चिकित्सकहरुलाई पाँच समूहमा वर्गीकरण गरी अधिकतम ८२५ रुपैयाँदेखि न्यूनतम ४५० रुपैयाँ परामर्श शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकेको छ । त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ तोकेको छ ।
