logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानमारमा सडक जाम गरी हजारौंको प्रदर्शन, जननिर्वाचित नेताको रिहाइको माग


अंकुरण खबर
3.341K
Shares

सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरूले म्यानमारका विभिन्न शहरमा प्रदर्शन गरेका छन् ।

फेब्रुअरी एक तारिखमा सेनाले शासन हातमा लिएपछि म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनकारीहरूले नेतृ आङ सान सूचीसहित अन्य जननिर्वाचित नेताहरूको रिहाइको माग गरेका छन् । देशकै ठुलो शहर याङ्गुनमा सवारी चालकहरूले गाडी तेर्साएर सडक अवरुद्ध पारेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अवज्ञाका कार्यक्रम अन्तर्गत त्यहाँ सडक जाम गरी प्रदर्शन गरिएको हो । म्यान्डलेको रेलवे स्टेसन नजिकै सुरक्षाकर्मीले गोली चलाउदा एक जना घाइते भएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सुरक्षाकर्मीहरूले म्यान्डले रेलवे स्टेसनमा कैयौँ राउन्ड गोली चलाएको देखिएको छ । प्रदर्शनकारीहरूले सेनाको सामान बोकेको रेललाई अघि बढ्नबाट रोक्ने प्रयास गरेपछि गोली चलेको हो ।

म्यान्मारका अन्य सहरहरूमा पनि प्रदर्शनहरू भएका छन् । राजधानीमा इन्जिनियर, चिकित्सक तथा शिक्षकहरू सेना विरुद्ध आफ्नो ऐक्यवद्धता देखाउन आयोजना गरिएका कार्यक्रममा सहभागी भएका छन् । सेनाले फेरि निर्वाचन गराउने वाचा दोहोर्‍याएपनि प्रदर्शनकारीले त्यसमा विश्वास गरेका छैनन् ।