नेपाल विद्यार्थी संघले कोभिड विरुद्धको खोपका लागि विद्यार्थीहरु प्राथमिकतामा नपरेको भन्दै सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग गर्दे बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने बताएका छन । विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको महामन्त्री भट्टराईले बताए ।
विद्यार्थीहरुले ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड-१९ भ्याक्सिनको पहिलो अधिकार’ यस्तै ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ? ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्लेकार्ड बोकी नारावाजी समेत गरेका थिए ।
सरकारले स्वस्थ्यकमी, संचारकर्मी लगायतलाई प्राथमिकताको आधारमा खोप लगाउदै आएको छ ।