logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दै


अंकुरण खबर
2.145K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।

काठमाडौंको कोटेश्वर (पेरिसडाँडा)स्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे आकस्मिक बैठक बस्न लागेको प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका एक नेताले जानकारी दिए ।

नेकपाको प्रचण्ड-नेपाल समूहले शुक्रबार मध्याह्नसम्म नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन भनेर केन्द्रीय सदस्यहरुलाई सर्कुलर जारी गरेको थियो । केन्द्रीय सदस्यहरु नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा भेला भएपछि बैठक बस्न लागेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरेपछि नेकपा २ खेमामा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले गरेका छन् ।

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा संसद विघटनविरुद्ध अहिले चौथो चरणको आन्दोलनमा छ । ४ सय ४१ सदस्यीय कन्द्रीय कमिटीका बहुमत (३ सय भन्दा बढी) सदस्य आफूहरुसँग रहेको भन्दै नेकपाको प्रचण्ड-नेपाल समूहले माघ २० गते वैधानिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर, प्रचण्ड-नेपाल समूहको निवेदनमाथि निर्वाचन आयोगले कुनै कारबाही अगाडि बढाएको छैन ।