निजी अस्पतालमा बढाइएको शुल्क तत्काल लागू गर्न नेपाल आयुर्वेद चिकित्सक संघले चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई आग्रह गरेको छ।
यही साता नेपाल चिकित्सक संघ (एनएमए) र निजी अस्पताल सञ्चालकहरुको संस्था एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले सूचना जारी गर्दै चिकित्सकहरुको ओपीडी शुल्क बढाएको थियो।
स्वास्थ्य मन्त्रालयले भने सहमतिबिना चिकित्सकको परामर्श शुल्क वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनएमए र अफिनले एकलौटी रुपमा बढाएको शुल्क लागू नगर्न ध्यानाकर्षण गराएका थिए।
०७१ असोज १ देखि लागू भएको ओपीडी शुल्क दुई वर्षमा समायोजन गर्नुपर्ने भए पनि अहिलेसम्म भएको थिएन। आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार स्वास्थ्य स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघसंगठनहरुले स्वास्थ्य मन्त्रालयमा माघ ४ गते गरेको सम्झौतामा ३० दिनभित्र शुल्क समायोजन गर्ने निर्णय भएको थियो।
तर त्यसको कार्यान्वयन नभएपछि आफैंले बाध्य भएर शुल्क बढाएको उनीहरुको भनाइ छ। ज्ञवालीले भने, ‘२०७१ देखि ३ पटकसम्म शुल्क समायोजन हुनुपर्नेमा अहिलेसम्म भएको छैन, स्वास्थ्य मन्त्रालयले वास्ता गरेन।’
स्वास्थ्य मन्त्रालयले भने यस विषयमा केही छलफल बाँकी रहेको भन्दै निर्णय लागू नगर्न भनेको छ। नयाँ शुल्कअनुसार न्यूनतम ३७० देखि अधिकतम ८२५ रुपैयाँसम्म तोकिएको छ। त्यसमा नर्सिङ होम तथा अस्पतालहरुले थप २० प्रतिशत जोड्न पाउनेछन्।
नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले शुल्क बढाउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति नभएपछि एनएमए र अफिनले एकतर्फी रुपमा बढाएको बताए ।