धनुषामा आफन्तबाटै अपहरणमा परेका ७ वर्षीय बालकको सकुशल उद्धार गरिएको छ ।
धनुषाको नगराइन नगरपालिका-६ लगमाको पछियारी टोलका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको अपहरण भएको ७ घन्टामा उद्धार गरिएको हो ।
अपहरणमा संलग्न बालकका मामासहित दुई जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
शनिवार साथीहरुसँग खेल्न निस्किएका चन्दन साढे चार बजेसम्म सम्पर्कमा नआएपछि उनको खोजी सुरू गरिएको थियो । त्यसको केही समयमै चन्दनकी आमाको मोबाइलमा अपिरिचित नम्बरबाट छोराको अपहरण गरेको भन्दै फिरौती रकम माग गरिएको थियो । उनीहरुले फिरौतीमा एक करोड रुपैयाँ मागेका थिए ।
प्रहरी उपरीक्षक रानाभाटका अनुसार बालकको अपहरण भएको जानकारी परिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए प्रहरीले अनुसन्धान गरेपछि बालकलाई सकुशल उद्धार गरिएको उनले बताए ।
‘हामीले प्राविधिक टोलीको मद्दतबाट बालकको आमाको मोबाइलमा फोन आएको नम्बरबारे पत्ता लगाउँदा सिम खरिद गरेको स्थान पत्ता लगाएर अपहरणकर्तासम्म पुग्यौं,’ उनले भने ।
पक्राउ पर्नेमा बालकको नातामा मामा पर्ने लक्ष्मीनारायण दास रहेको रानाभाटले बताए । साथै एकजना अर्का शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको उनले बताए ।
उनका अनुसार एक–दुई जना अरू पनि शंकाको घेरामा रहेको र आमालाई पनि शंकाको घेरामा राखिएको छ ।