जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले संसद् विघटनलाई सामान्य घटनाका रुपमा लिन नसकिने बताएका छन् ।
उनले दुई तिहाइ नजिकको सरकारले एकाएक संसद् विघटन गर्नु आफैँमा असामान्य घटना भएको बताए ।
आइतबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राउतले भने, ‘जनताले मुलुकको विकास गर, स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर मत दिएर पठाएका हुन् । तर सरकारले त्यसअनुसार काम गर्न सकेन ।’
उनले मुलुकको विकास नभई भ्रष्टाचार र अस्थिरता बढेको बताए । ‘हामीले धेरै व्यवस्था भोग्यौं, सबैभन्दा राम्रो व्यवस्था भनिएको संघीयतामा पनि अस्थिरता भयो । नेपालमा सबै किसिमका व्यवस्था फेल हुँदै गएकाले जनता निराश हुन बाध्य भएका छन्’, उनले भने ।
डा.राउतले नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुका कारण सही व्यक्ति चयन गर्न नसक्नु भएको बताए । उनले भने, ‘हामीले सही मान्छे चयन गर्न नसक्दा दुःख पाएका छौं, उत्कृष्ट भनिएको व्यवस्थामै समस्यामा पर्यौ’, ।
उनले अहिले जनताका अधिकार प्रत्याभूति नगरिएको बताउँदै जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने व्यवस्था भए मात्रै राजनीति सही ट्रयाक हुने बताए ।
संसद् पुनःस्थापना नभए आफूहरु चुनावमा जान तयार रहेको समेत उनले बताए । उनले अदालतमा विचाराधीन मुद्दा भएकाले यसबारे आफू केही नबोल्ने बताए ।