नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पैसाकै कारणले आन्दोलन नरोकिने बताएका छन् ।
सभापति शेरवहादुर देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको अभिव्यक्ति दिएपछि नेता पौडेलले आन्दोलन पैसाले नभइ विचारले हुने जवाफ दिएका हुन् ।
नेपाल प्रेस सुनसरी सुनसरीले आइतबार विहान इटहरीमा गरेको साक्षात्कार कार्यक्रममा नेता पौडेलले संसद विघटन विरुद्ध आन्दोलनको विकल्प नभएको बताए ।
सभापति देउवाकै कारण प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न सहयोग पुगेको उनको आरोप थियो । सभापति देउवाले आफ्ना कुरा नसुन्दा कांग्रेस कमजोर बनेको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले अदालतलाईसमेत धम्की दिँदै हिडेको भन्दै उनले अपत्ति जनाए । पौडेलले भने , ‘प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको छ ।’
ओली र देउवाको आलोचनामा समय खर्चिएका पौडेलले प्रदेशमा प्रचण्ड माधव पक्षले दर्ता गरेको प्रस्तावमा कांग्रेसले साथ दिनुपर्ने बताए । तर देउवाले यसबारे आफूहरुको कुरा नसुनेको उनको आरोप छ ।