मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज फेरि परीक्षण गरिने भएको छ ।
काठमाडौँ उपत्यकाबासीको लागि निकै प्रतिक्षारत रहेको मेलम्ची खानेपानीको सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि फेरि परीक्षण गर्न लागिएको हो ।
गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए ।
आज बिहान ११ बजे पानी पठाउन थालिने उनले जानकारी दिए । सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ । सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने छ ।
सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ ।
यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा पानी पथान्तरण गरिएकामा असार ३० मा दुर्घटना भएको थियो ।