logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोस्रो चरणको खोप अभियानमा ७ हजार बुथ, १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने


अंकुरण खबर
819
Shares

सरकारले यही फागुन २३ गतेदेखि १५ हजार स्वास्थ्यकर्मी परिचालन गरेर ७ हजार बुथबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्ने जनाएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार देशभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुबाट समेत खोप सेवा सञ्चालन हुनेछ ।

देशभर ५ हजारको हाराहारीमा अस्पताल रहेको र स्वास्थ्य संस्थामा समेत बुथ राख्दा करिब ७ हजारको संख्यामा बुथ राखिने उनले बताए । उनले भने, ‘कहाँ कति खोप केन्द्र राख्ने, कति स्वास्थ्यकर्मी परिचालन गर्ने भन्ने विषयमा योजना बनिरहेको छ ।’

सरकारले दोस्रो चरणको खोप अभियानका लागि भारतबाट १० लाख डोज खोप ल्याइसकेको छ भने बाँकी १० लाखको अग्रिम भुक्तानी गरिसकेको छ । दोस्रो चरणमा ५५ वर्षभन्दा माथि उमेर समूहमा खोप लगाउने निर्णय मन्त्रालयले गरिसकेको छ । यो चरणमा औषधी पसलमा बस्ने कर्मचारी, सवारी चालक लगायतले पनि खोप पाउनेछन् ।

पहिलो चरण अन्तर्गत ४ लाख ३० हजारलाई खोप लगाउने लक्ष्य लिएको सरकारले जिल्ला अस्पतालबाट मात्रै खोप लगाउने गरेको थियो । कुनै समस्या देखिन सक्छ भनेर चिकित्सक भएको ठाउँमा बुथ राखी खोप सेवा चलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो चरणमा खोपको प्रभावकारिता निकै राम्रो देखिएको छ ।

खोप लगाएका करिब ३० प्रतिशतलाई सामान्य लक्षण देखिए पनि कुनै अप्रिय घटना नभएपछि सरकारले अब देशभरका अस्पतालहरुबाट खोप सेवा संचालन गर्ने भएको हो ।