प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको भूमि समेटेर सरकारले नक्सा र संविधानमा उल्लेख गरेको भन्दै अब गुमेको भूमि फिर्ता ल्याउने दाबी गरेका छन् ।
कञ्चनपुरको दैजीमा छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा बोल्दै उनले भारतसँग वार्ता र संवाद भइरहेको बताए ।
‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौं’’उनले भने, ‘अब यसले एउटा वातावरण बनेको छ । भारतसँग संवाद भइरहेको छ ।’
सुदूरपश्चिम सुन्दर पश्चिम मात्रै नभएर आर्थिक हिसाबले विकसित हुने दिशामा अघि बढेको भन्दै उनले सरकारले विकसित प्रदेशका रुपमा अगाडि बढाउने बताए ।
‘औद्योगिक क्षेत्रले यहाँका जनतालाई रोजगारी दिने छ । यहाँका उद्योगले सीप विकास र तालिम, अनि रोजगारीको सिर्जना गर्नेछन्,‘ उनले भने, ‘औद्योगिक क्षेत्र स्थापना भएपछि अन्य गतिविधि, आर्थिक गतिविधि र क्रियाकलाप बढ्ने छन् । लगानीको वातावरण बन्ने छ ।’
उनले आफ्नो नेतृत्वको सरकारले सम्वृद्ध नेपाल र सुखी नेपाली नारा अघि बढाइरहेको भन्दै देशले विकासको गति लिने बताए ।