प्रधानसेनापति पूर्णचन्द्र थापा सोमबार सर्वोच्च अदालत पुगेका छन् ।
सेनाले प्रयोग गरिरहेको जग्गालाई लिएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितका अधिकारीसँग छलफलका लागि उनी सर्वोच्च अदालत पुगेका हुन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले प्रधानसेनापति थापा दिउँसो १ बजे आएको पुष्टि गरे । ‘हाम्रो मूल भवनको पूर्वतर्फ रहेको सेनाले उपभोग गरिरहेको जग्गाबारे छलफल गर्न उहाँ आउनु भएको हो’, ढकालले भने, ‘अन्य कुरामा होइन, त्यो जग्गा ‘क्लियरेन्स’को उपायबारे कुरा भएको छ ।’
सेनाले उपयोग गरिरहेको जग्गामा सर्वोच्च अदालतको नयाँ भवन बनाउन लागिएकाले त्यही विषयमा छलफलका लागि थापा सर्वोच्च अदालत आएको ढकालले बताए ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा टुंगिने चरणमा रहेको बेला प्रधानसेनापतिको भ्रमणलाई अनेक कोणबाट व्याख्या गर्न थालिएको छ ।