धनुषामा दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन्।
धनुषाको सीमावर्ती क्षेत्र जटही नाकाबाट साढे २५ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा महोत्तरीको टेन्ट ब्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले साढे २५ लाख हुण्डी रकमसहित नेपालबाट भारततर्फ जाँदै गर्दा जटही नाकाबाट पक्राउ गरिएको प्रहरी उपरिक्षक रानाभाटले बताए।
दुवै जनालाई भारतीय नम्बर प्लेटको मोटरसाईकलसहित पक्राउ गरेको र थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।