मंगलबार संसद विघटनको निणर्य बदर गर्ने फैसला सुनाएका प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरु आज (बुधबार) बिदामा बसेका छन् ।
संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउने प्रधानन्यायाधीशसहित अन्य ४ जना न्यायाधीशका लागि बुधबार पेशी तोकिएको छैन ।
सर्वोच्च अदालतमा बुधबार ८ वटा इजलास गठन गरी पेशी तोकिएको छ । ८ वटामध्ये ७ वटा संयुक्त इजलास छन् भने एउटा एकल इजलास छ ।
बुधबार न्यायाधीशरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर प्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, कुमार रेग्मी, हरि प्रसाद फुयाल र मनोजकुमार शर्माका लागि इजलास गठन गरी पेशी तोकिएको छ ।
सर्वोच्च अदालतमा बहाल १९ जना न्यायाधीशमध्ये बुधबार ११ जनाको लागि पेशी तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित संवैधानिक इजलासका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी बुधबार बिदामा बसेका छन् ।
संसद विघटनको मुद्दामा माघ २ गतेदेखि लगातारजसो चलेको सुनुवाई र गम्भीर संवैधानिक प्रश्नमा गर्नुपरेको फैसलाको ‘तनाव’बाट मुक्त हुनका लागि संवैधानिक इजलासका न्यायाधीशहरुलाई बुधबार ‘बिदा’ दिइएको सर्वोच्च स्रोतले जानकारी दियो ।