राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथमा सुनको नयाँ जलहरी राख्ने क्रममा भएको क्षमा पूजाको औपचारिक रुपमा समापन गरेकी छन् ।
बुधबार मध्याहन्न पशुपतिनाथ गएकी राष्ट्रपति भण्डारीले क्षमा पूजाको औपचारिक रुपमा समापनसँगै नयाँ जलहरीसहितको पशुपतिनाथको मूल मूर्तिमा विशेष पूजा पनि गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कोषका प्रवक्ता भोला सिटौलाले भने, ‘राष्ट्रपति ज्यूले क्षमा पूजाको समापन तथा विशेष पूजा गर्नुभयो । उहाँले यहाँ आधा घण्टा बिताउनु भयो ।’
पशुपतिनाथमा सुनको नयाँ जलहरी ९पिठिका० स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजाको विशेष विधि पूर्वक राष्ट्रपति भण्डारीले समापन गरेकी हुन् ।
मंगलबार बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मुल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिएका छन् ।
सदस्य सचिव ढकालले भने, ‘विशेष पूजाका साथ मंगलबार बेलुका ९ बजे नयाँ जलहरी स्थापना गरिएको छ । त्यसलाई मिलाउनका लागि रातभर लाग्यो ।’ नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उनले बताएका छन् ।
जलहरी राख्ने उत्तम साइत मंगलबार बेलुका ९ बजेको भए पनि त्यसका लागि भएको क्षमा पूजा तथा स्थापनार्थ गरिएको विशेष पूजाको समापन बुधबार भएको हो ।