नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको बैठकबाट गलहत्याउने बताएकी छन् ।
प्रतिनिधिसभा विघटन बदरको स्वागतमा बुधबार काठमाडौंमा जुलुसपछि आयोजित कार्यक्रममा बोल्दै उनले ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । नैतिकताका आधारमा ओलीको मंगलबार नै राजीनामा आउने आशा गरिए पनि त्यस्तो हुन नसकेको उनले बताइन् ।
“तत्काल राजीनामा दिइयोस् । १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बस्नेछ । त्यहाँबाट गलहत्याएर फालिनेछ,’’ उनले भनिन् ।
राष्ट्रपतिलाई संविधानको रक्षक भनिए पनि उनले त्यो भूमिका खेल्न नसकेको भुसालले बताइन् । प्रधानमन्त्री ओलीका जनविरोधी, प्रतिगमनकारी सोचलाई अदालतले खारेज गरेको उनको भनाइ थियो ।