logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाअभियोग लगाएर राष्ट्रपतिलाई पदमुक्त गर्न विवेकशीलको माग


अंकुरण खबर
1.963K
Shares

विवेकशील साझा पार्टीले राष्ट्रप्रति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

पछिल्लो समय असंवैधानिक ढंगले गरिएका सम्पूर्ण नियुक्ति खारेज गर्न पनि माग गरेको छ । बुधबार बिहान विज्ञप्ति जारी गर्दै सो पार्टीले अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ ।

विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्रीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी संसद्बाट नयाँ सरकार गठनको मार्गप्रशस्त गर्नुपर्ने सो पार्टीको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै विज्ञप्तिमा संविधानको रक्षा गर्ने दायित्व ख्याल नगरी प्रधानमन्त्रीका हरेक असंवैधानिक कदमलाई सदर गर्दै साथ दिएकाले राष्ट्रपति भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने जनाएको छ । अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदलाई सो पार्टीले आग्रह पनि गरेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबाट विधिको शासन पुनर्बहाली भई मुलुक गम्भीर दुर्घटनाबाट जोगिएको सो पार्टीको धारणा छ ।