नेकपा दाहाल–नेपाल समूहले विकसित राजनीतिक घटनाक्रममा सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको छ।
पार्टीको बुधबार सम्पन्न स्थायी कमिटीको अनौपचारिक बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण गर्न लोकतान्त्रिक शक्तिसँग हातेमालो गरेर अघि बढ्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
संसद् बैठकबाट संविधानअनुसार सरकार गठन र अविश्वास प्रस्तावको प्रक्रिया अघि बढ्ने श्रेष्ठले बताए।
प्रधानमन्त्री ओलीविरुद्ध यसअघि दर्ता गरिएको अविश्वास प्रस्तावमा पुष्पकमल दाहाललाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गरिए पनि आश्वयकता परे नयाँ ढंगले सोच्ने श्रेष्ठले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्न तयार हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा श्रेष्ठले प्रधानमन्त्री कसलाई बनाउने भन्नेमा कुनै टुंगो नलागेको बताए।
उनले बुधबार बिहान नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले देउवासँग देशलाई राजनीतिक स्थिरतातर्फ के कसरी लैजान सकिन्छ भन्नेमा छलफल भएको जानकारी दिए।
उनले भने, ‘त्यो छलफलमा प्रधानमन्त्री को बन्ने भन्ने टुंगो लगाएका छैनौं। राजनीतिक स्थिरता कायम होस् भन्ने चाहना हो।’
प्रधानमन्त्री ओलीले आत्मालोचनासहितको रुपान्तरणको प्रस्तुति नदिएसम्म उनीसँग एकता हुन नसक्ने उनले बताए।
उनले भने, ‘ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो, गल्ती गरें भन्नुभयो र विधि–पद्धतिका आधारमा अघि बढ्छु भन्नुभयो एकता हुन सक्छ। अन्यथा एकताका कुरा भ्रम हुन्।’
बैठकले भ्रममा परेर फुटवादी गुटमा लागेका नेताहरूलाई आआफ्नो पदमा फर्किएर जिम्मेवारी लिन पनि आह्वान गरेको छ।
बैठकले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ। श्रेष्ठले भने, ‘यसबाट संविधान र लोकतन्त्रको रक्षा भएको छ। प्रतिगामीको ठूलो चक्रव्यूह र राजनीतिक संकटको सुरुङमा लैजाने खतराबाट देशलाई बचाएको छ।’
अदालतको निर्णयलाई पार्टी स्थायी कमिटीले उच्च मूल्यांकन गरेको श्रेष्ठले बताए।