नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयले संविधानसम्मत ढंगले निर्णय लिएकाले तानाशाह प्रवृत्तिको अन्त्य भएको बताएका छन् ।
बिहीवार नेपाली कांग्रेस धनुषाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई ब्यूँत्याइदिएर देशलाई अनिर्णयको बन्दीबाट जोगिएको बताएका हुन् ।
सर्वोच्चले जनताको पक्षमा फैसला गरेको बताउँदै नेता पौडेलले संसद पुनर्स्थापना नभएको भए कानून नभएको देशको रुपमा नेपाल चिनिने टिप्पणी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘सर्वोच्चको यो निर्णय नआएको भए नेपालमा जे पनि गर्न पाइने एउटा नजीर खडा हुन्थ्यो र नेपाल विश्वसामु न्याय कानुन नभएको देशको रुपमा चिनिन्थ्यो ।’
नेता पौडेलले सजगताका साथ संगठन विस्तारमा लाग्न नेता कार्यकर्ताहरुसँग आग्रह गरेका छन् । नेता पौडेलले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै कांग्रेस आन्दोलनमा जानुपर्नेमा जोड दिँदै आएका थिए ।