logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेरिसडाँडामा प्रचण्डले भने- ओलीसँग मिल्ने कुनै सम्भावना छैन, सबै ढोका बन्द भए


अंकुरण खबर
741
Shares

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्ने सबै सम्भावना सकिएको बताएका छन् ।

सरकारमा समीकरणका लागि बोलाइएका जनता समाजवादी पार्टी नेपालका नेताहरुसँग बिहीबार बिहान छलफलका क्रममा ओलीसँग मिल्ने सबै विकल्प बन्द भइसकेको टिप्पणी दाहालले गरेका हुन् ।

जसपा नेताहरूसँगको संवादका क्रममा प्रचण्डले आफ्नै समूह आधिकारिक रहेको जिकिर गरेका थिए । उनले ओलीको प्रतिगामी कदमका कारण विभाजित पार्टी अब एक हुनै नसक्ने तर्क गर्दै बहुमत रहेकाले आफूहरु नै आधिकारिक रहेको तर्क गरेका थिए।

‘ओलीसँग मिल्ने सबै विकल्प र ढोकाहरू बन्द भइसकेका छन्। अब हामी उनीसँग कुनै किसिमको सहकार्य गर्ने अवस्थाबाट धेरै पर पुगिसकेका छौँ,’उक्त बैठकमा सहभागी एकजना नेताले भने, ‘अब ओलीसँग मिल्ने दिशातिर फेरि कथा अघि बढ्दैन। हामी नै आधिकारिक नेकपा भएकाले विचार मिल्ने अन्य शक्तिसँग सडकदेखि सरकारसम्मको सहकार्य खोजिरहेका छौँ।‘

अर्का अध्यक्ष माधवकुमार नेपालले पनि संसददेखि पार्टीसम्म आफुहरुकै बहुमत रहेकाले सबैतिर आफूहरु नै आधिकारिक हुने व्याख्या बैठकमा गरेका थिए। तर जसपा नेताहरुले जवाफमा दाहाल नेपाललाई ओलीको प्रतिगमन अदालतले सच्याए पनि संविधान बनाउँदा भएको प्रतिगमन पनि सच्चिनुनपर्ने मत राखेका थिए। अर्थात् उनीहरुले संविधान संशोधन गर्न तयार भए मात्रै सहयात्रा सम्भव हुने कुरा पेरिस डाँडामा राखेर बाहिरिएका थिए।