पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अहिले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
जोशीको सघन उपचार कक्ष (आईसीयू) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ । न्यूरो सर्जन डा. राजीव झासहितको टोलीले जोशीको उपचार गरिरहेको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ ।
चिकित्सकका अनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको हो । उनको मस्तिष्तकको अति संवेदनशील भागमा रगत जमेको जनाइएको छ । जमेको रगत शल्यक्रिया गरेर पनि निकाल्न सकिने अवस्था नरहेको चिकित्सकले जनाएका छन् ।
यद्यपि अहिले मस्तिष्कमा चाप घटाउन पाइप राखिएको छ । चिकित्सकले नेता जोशीको अवस्था गम्भीर रहेको बताएका छन् ।
बिहीबार राति शरीरको देब्रेपट्टि समस्या देखिएपछि नेता जोशीलाई वीर अस्पताल लगिएको थियो ।
शुक्रबार बिहान जोशीलाई वीर अस्पतालबाट नर्भिक अस्पताल पुर्याइएको उनका सहयोगी पुष्कर पाण्डेले जानकारी दिए ।