पछिल्लो समय काठमाडौं उपत्यकामा चोरी तथा लुटपाटका घटना बढ्दै गएका छन् ।
लुटेराहरुले घरमा कोही नभएको मौका छोपेर ढोका तथा ढोकामा लगाइएको ताला फुटाएर नगदसहित धनमाल चोरी गर्ने गरेका छन् ।
केही दिन अगाडि मात्रै काठमाडौं र ललितपुर जिल्लामा गरी लुटेराहरुले दिउँसै घरको ढोका र ताला फुटाएर १७ लाख रुपैयाँ बराबरको धनमाल लुटेका थिए ।
यस्तै, ललितपुरको मंगलबजारमा १ व्यक्ति दिउँसै लुटिएका प्रहरीले जानकारी दिएको छ । ललितपुर महानगरपालिका-१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिक व्यक्ति लुटिएका हुन् ।
लुटिनेमा ललितपुरकै गोदावरी नगरपालिका-६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापा छन् । अपरिचित व्यक्तिले उनलाई नशालु पदार्थ मिसाएको जुस (फ्रुटी) खुवाएर लुटपाट गरेका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार थापाको साथबाट नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटिएको हो ।
प्रहरीले लुटेराहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।