नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।
सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको उक्त समूहका सचिवालय सदस्यहरूको बैठकले तिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न दुबै बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन ।
बैठकले पार्टीको आधिकारिकता सम्बन्धी विवादलाई छिटो टुङ्ग्याउन निर्वाचन आयोगलाई अनुरोध गरेको छ । ‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिकतासम्बन्धी जो हाम्रो दाबी छ त्यसका बारेमा छिटोभन्दा छिटो निर्णय गर्न अनुरोध गरेका छौं,’ प्रवक्ता श्रेष्ठले भने ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकालिएको बताइएको छ ।