logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सरकारसँग वार्ता गर्न विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली


अंकुरण खबर
806
Shares

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पनि सरकारसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो ।

विश्वकर्माको नेतृत्वमा गठन गरिएको ३ सदस्यीय वार्ता टोली आजै सार्वजनिक गरिने विप्लव नेतृत्वको नेकपाका एक नेताले जानकारी दिए ।

सरकारले पनि बिहीबार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य छन् । वार्ताद्वारा नै सबै समस्या समाधान गर्ने गरी वार्ता टोली गठन भएको मन्त्री गुरुङले जानकारी दिए ।

केही समय अगाडिदेखि नै सरकारी पक्ष र प्रतिबन्धित विप्लव समूहबीच अनौपचारिक वार्ता हुँदै आएको थियो । अनौपचारिक वार्ता सकारात्मक भएपछि औपचारिक वार्ताको वातावरण बनेको सरकारी स्रोतको भनाइ छ ।

प्रतिबन्धित नेकपाका महासचिव विप्लवले केही दिन अगाडि एक वक्तव्य जारी गर्दै आफूहरुमाथि लगाइएको प्रतिबन्ध हटाइए सरकारसँग वार्ता हुने बताएका थिए ।

तर, सरकारले भने वार्ताकै क्रममा सबै मागहरुको सम्बोधन हुने बताएको छ । सरकारका प्रवक्ता गुरुङले सबै कुरा वार्ताद्वारा नै टुंगिने बताए ।